काबेली नदीमा बाढी, ताप्लेजुङमा पुल र घर बगायो

न्युजलय ३३ जेठ २०८०, शुक्रबार ०४:२४ मा प्रकाशित

ताप्लेजुङ । अविरल वर्षाका कारण काबेली नदीमा आएको बाढीले ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा क्षति पुर्‍याएको छ।

बाढीले वडा नं ७ र सिद्ङिवा गाउँपालिका जोड्ने मोटरेबल पुल र वडा नं ८ याम्फुदिनमा एक घर बगाएको स्थानीयले बताएका छन् । बाढीले १५ र १० किलोवाट क्षमताका दुईवटा लघु जलविद्युत्‌ आयोजनाको पावरहाउस पनि बगाएको छ।

वर्षा नरोकिएका कारण थुङ्‌गिम र थिमदिन बस्ती, स्वास्थ्य चौकी, प्रहरी चौकी र विद्यालय जोखिममा परेको बताइएको छ । सुरुमखिम–खेवाङ–याम्फुदिन जोड्ने मोटरेबल पुल भत्काएको हो। गत जेठ महिनामा उद्घाटन गरिएको पुलको एकापट्टिको पिलरसहितको भाग बाढीले भत्काएको छ।

बाढीले जगतबहादुर राईको घर पुरेको छ भने कञ्चनजंघा माध्यमिक विद्यालय, याम्फुदिन प्रहरी चौकी कञ्चनजंघा संरक्षण क्षेत्र, स्वास्थ्य चौकीको भवन जोखिममा रहेको गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले जानकारी दिए।