एमसीसी खारेजलगायतका माग गर्दै आमरण अनशन बसेकी बरालसँग वार्ता

न्युजलय ३ चैत २०७८, बिहिबार ०१:४७ मा प्रकाशित

काठमाडौं । एमसीसी खारेजलगायतका माग राख्दै आमरण अनशनमा बसेकी तारा बरालसँग बुधबार सरकारी टोलीले वार्ता गरेको छ ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, गृहमन्त्रीका प्रशासन तथा शान्ति सुरक्षा मामला विज्ञ सुनील खनाल र महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले छलफल गरेका हुन् ।

बरालले संसदबाट पास भएको अमेरिकी सहयोग परियोजना एमसीसी पूर्ण रूपमा खारेज गर्नुपर्ने, नागरिकता विधेयक पूर्ण रूपमा खारेज गर्नुपर्ने, संघीयता पूर्ण रूपले खारेज गर्नुपर्ने, सर्वोच्च अदालतअघि महिलामाथि दुर्व्यवहार गर्ने अधिवक्तालाई कारबाही गर्नुपर्ने लगायतका माग गरेकी छिन् ।

सरकारी वार्ता टोलीले बिहीबार फागु पूर्णिमा भएकाले शुक्रबार पुनः वार्ता गरेर अनशन टुंग्याउने बताएको छ ।