कक्षा ११ र १२ को पाठ्यपुस्तक साझा प्रकाशनले छाप्ने

न्युजलय ३२ जेठ २०७९, बुधबार १२:५६ मा प्रकाशित

काठमाडौं । सरकारले कक्षा ११ र १२ को पाठ्यपुस्तक साझा प्रकाशनबाट छपाउने भएको छ ।


मंगलबार प्रतिनिधिसभामा मन्त्रालयको बजेटमाथि सांसदहरुले गरेका प्रश्नको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन् ।

 

कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिएकामा उसले पुस्तक छापिसकेको छ ।


जनक शिक्षाले ४ देखि १० कक्षासम्मको पुस्तक छपाइ अहिलेसम्म सकेको छैन । जनक शिक्षाले यस वर्ष १ करोड ९६ लाख थान पुस्तक छपाइ गर्नुपर्नेमा हालसम्म १ करोड ७० लाख थान मात्र पुस्तक छपाइ गरेकाले विद्यार्थीले अभाव भोग्नुपरेको छ ।


सोही कारण सरकारले ११ र १२ को पुस्तक छपाइको जिम्मा भने साझा प्रकाशनलाई दिएको हो ।


जनक शिक्षाको छापाखानाले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ गर्नुपरेको र रुस युक्रेन युद्धका कारण कागज अभाव भएको कारण पुस्तक छपाइम ढिला भएको मन्त्री पौडेलले बताएका छन् ।