सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्षसहित ३ जनाले उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेको भन्दै प्रहरीमा उजुरी परेको छ।
वडाध्यक्ष विनोदसिंह विष्ट, सुशील गुरुङ, बलिराज शाहीले सोही वडाको खोर्केखोला तटबन्धन उपभोक्ता समितिको रकम लिएर फरार भएको भन्दै उपभोक्ता समितिका व्यक्तिहरूले सो विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन्।
बिहीबार दिउँसो ३ बजेतिर टोल समितिको अध्यक्षको घरबाट उनीहरूले रकम लिएको आरोप लगाइएको छ।
जिल्ला प्रहरी कार्यालयले उक्त विषयमा बिहीबार उजुरी आएको जनाएको छ ।
वडाध्यक्ष विष्ट कहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवलाई मुक्का हानेर र त कहिले आफ्नै वडा सदस्यहरूसँग विवाद भएर चर्चामा आउने गरेका छन्।