काठमाडौं । संसद् भवनअगाडि प्रदर्शन गर्ने केही अधिकारकर्मीलाई बिहीबार(आज) प्रहरीले नियन्त्रणमा लिएको छ ।
भ्रष्ट नेता, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई कारबाही गर्नुपर्नेलगायत माग राख्दै प्रदर्शनमा उत्रिएका उनीहरूलाई नयाँ बानेश्वरबाट नियन्त्रणमा लिइएको हो । मानवअधिकार तथा शान्ति समाजको आह्वानमा उनीहरूले प्रदर्शन गरेका थिए ।
प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, डा. केदारनरसिंह केसी, उत्तम पुडासैनी, चन्द्रमणि बञ्जारालगायत १६ अधिकारकर्मीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।