इटहरी । सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कर्मचारीतन्त्रका समस्या सुधार गर्न निर्वाचनलाई कम खर्चिलो बनाउन सुझाव दिएकी छिन् ।
कर्मचारीहरु यदाकदा गलत काममा अग्रसर हुने अवस्था आउन नदिन उनले खर्चिलो निर्वाचन प्रणालीमा सुधारको आवश्यकता रहेको बताएकी हुन् । न्युजलयसँग कुरा गर्दै उनले निर्वाचन प्रणाली महँगो हुन्जेल राजनीतिक नेतृत्व नसुध्रने र राजनीतिक नेतृत्व नसुध्रिएसम्म त्यसको असर कर्मचारीतन्त्रमा पनि देखिने बताइन् ।
उनले थप केही सुझावहरुसमेत दिएकी छिन् । ‘राम्रो काम गर्ने कर्मचारीलाई प्रसंसा गरियो भने पनि उनीहरु राम्रो काम गर्न प्रोत्साहित हुन्छन्,’ उनले भनिन्, ‘कर्मचारीको तलब थोरै भयो भन्ने कुराको सन्दर्भमा उनीहरुका सन्ततीको शिक्षा र स्वास्थ्यको प्रत्याभुति गर्न सकियो भने पनि सुधार आउँछ ।’
यस्तै समाजले गलतलाई गलत भन्न सक्नुपर्नेमा पनि उनले जोड दिइन् । ‘जति नै धनसम्पत्ती भएपनि गलत काममा लाग्ने अनि एउटाले गरेपछि अरुले पनि त्यही गर्ने र समाजले पनि त्यसलाई सहज तरिकाले स्वीकारिदिने अवस्थाले पनि सुधार हुन सकेको छैन,’ उनले भनिन्, ‘समाजले गलतलाई गलत भन्नुपर्छ । जसको कारण समाजले प्रश्न उठाउँछ भनेर पनि राम्रो काम गर्छन् ।’
प्रजिअ पाण्डे सरुवा भएर केही दिनमै बाग्मती प्रदेश कार्यालय जाँदैछिन् । सुनसरी आउनुअघि उनले भक्तपुर र काभ्रेपलान्चोक जिल्लाको प्रशासन सम्हालिसकेकी छिन् ।
सुनसरीमा रहँदा उनले कार्यालयमा बिचौलियाहरुलाई निरुत्साहित गरेकी थिइन् । यस्तै धरानमा चर्च विवाद चर्केको बेलामा हुन लागेको हिन्दु धर्मावलम्बीहरुको र्याली रोकेकी थिइन् । उक्त र्यालीका कारण झडप हुने सुचना पाएपछि उनले सुरक्षा निकायहरुसँगको समन्वयमा र्याली रोक्न सफल भएकी थिइन् । यस्तै अन्तरकार्यालय समन्वयमा पनि जोड दिएकी थिइन् । बाँकी दुई जिल्लामा जस्तै सुनसरीमा पनि उनले स्थानीयसँग भिजेर काम गरेकी थिइन् ।
त्रिचन्द्र कलेजको शिक्षण छाडेर १७ वर्षअघि निजामती सेवामा प्रवेश गरेकी पाण्डेका श्रीमान पनि निजामती सेवामै छन् । पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लामो समय काम गरेकी थिइन् । उनीसँग यस्तै विभिन्न विषयमा गरिएको कुराकानी -