देशभर मनसुन सक्रिय, बिहीबारसम्म झरीको सम्भावना

न्युजलय १४ असार २०७९, मङ्गलबार ०१:२५ मा प्रकाशित

काठमाडौं । मनसुनी वायु देशभर सक्रिय बनेसँगै अबका केही दिन मौसम प्रतिकूल हुन सक्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दैै मंगलबारदेखि बिहीबारसम्म मुलुकका धेरै क्षेत्रमा वर्षाको आकलन गरेको छ । 


यस अवधिमा केही क्षेत्रमा भारी र अतिभारी वर्षासमेत हुन सक्ने भएकाले बाढीपहिरोको जोखिम रहेको चेतावनी दिएको छ । नेपालमा २२ जेठमा मनसुन भित्रिएकामा सोमबार सुदूरपश्चिम प्रदेशमा पनि फैलिएर देशभर सक्रिय बनेको छ । यही वेला मनसुनको न्यूनचापीय रेखा पनि मंगलबारदेखि बिहीबारसम्म तराई भूभागनजिक आइपुग्ने देखिएपछि विभागले झरी र भारी वर्षाको चेतावनी दिएको हो । 

 

मनसुनी वायु देशभर सक्रिय बनेको छ । मंगलबारदेखि मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभागमा रहने देखिन्छ । यसले मनसुन थप सक्रिय भई देशभर वर्षा तथा केही क्षेत्रमा भारी र अतिभारी वर्षा हुन सक्छ । 


मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार मंगलबार मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना छ । त्यसमा पनि प्रदेश १, मधेस, बागमती, गण्डकी, लुम्बिनीका थोरै र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले बताइन् । 


मंगलबार राति प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा त धेरै भारी वर्षाको प्रक्षेपण गरिएको छ । बुधबार पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको अनुमान गरिएको छ । ती प्रदेशका थोरै स्थानमा धेरै भारी वर्षाको पनि प्रक्षेपण विभागले गरेको छ । सुदूरपश्चिम र कर्णालीका थोरै स्थानमा पनि भारी वर्षाको सम्भावना छ । बिहीबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा वर्षाको आकलन गरिएको छ । थोरै स्थानमा भारी वर्षा पनि हुन सक्ने ठानिएको छ ।