भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर विज्ञान तथा एमबिबिएस पढ्न चाहने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययन खर्च दिने नीति ल्याएको छ ।
शिक्षा क्षेत्रको विकासमा योगदान दिएर दक्ष नागरिक उत्पादन गर्न गाउँपालिकाले यस्तो नीति अघि सारेको हो । त्यसरी पढ्ने विद्यार्थीले शिक्षा पूरा गरिसकेपछि गाउँपालिकामा सेवा गर्ने प्रतिबद्धता जनाउनुपर्नेछ ।
शुक्रबार सम्पन्न भएको दोस्रो गाउँसभा तथा प्रथम अधिवेशनले यस्तो नीति सार्वजनिक गरेको हो ।
गाउँपालिकाले विद्यार्थीमा पढाइप्रति लगाव बढाउनका लागि अध्ययन खर्चको व्यवस्था गर्ने नीति लिएको छ ।
एसइईमा उच्च अङ्क ल्याएर राम्रो विषय पढ्न चाहने विद्यार्थीलाई अध्ययन खर्च दिने नीति ल्याएका छौँ तर त्यस्ता विद्यार्थीले केही समय गाउँपालिकाको विद्यालय तथा अस्पतालमा अनिवार्यरुपमा सेवा गर्नुपर्नेछ ।
गाउँसभामार्फत खानेपानीलाई पहिलो प्राथमिकतामा दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
गाउँसभाले तयार गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आगामी आर्थिक वर्ष २०७९र८० का लागि जम्मा ४१ करोड दुई लाख ७६ हजार १० रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरिएको छ ।