झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारलाई घृणा गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेका छन् ।
झापाको भद्रपुर नगरपालिका–१० चन्द्रगढीमा रहेको शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको आइतवार(आज) उद्घाटन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
‘देशको गरिमा उच्च पार्न र देशलाई विकसित बनाउनका लागि भ्रष्टाचारलाई जरैदेखि हटाउन आवश्यक छ, उनले भने, ‘भ्रष्टाचारलाई घृणा गर्नुहोस्, ढिलासुस्ती नगरेर जनताको मन जित्ने गरी काम गर्नुहोस् ।’
अध्यक्ष ओलीले चुनावमा निष्पक्ष रूपमा काम गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रहसमेत गरे । नेपाल निजामती कर्मचारी सङ्गठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरको अगुवाइमा भवन निर्माण भएको भवन निर्माण समितिले जनाएको छ ।
दुई तले भवनको कुल लागत एक करोड ८८ लाख नौ हजार पाँच सय ७० रुपैयाँ रहेको छ ।