फेसबुक लाइभमा आएर व्यापारीले गरे विष खाएर आत्महत्याको प्रयास, श्रीमतीको मृत्यु

न्युजलय २७ माघ २०७८, बिहिबार ०९:२२ मा प्रकाशित

नयाँ दिल्ली । उत्तर प्रदेशको बागपतमा एक जुत्ता व्यापारीले केन्द्र र राज्य सरकारको आर्थिक नीतिबाट आक्रोशित भएको जनाउँदै फेसबुक लाइभमा विष सेवन गरे। अहिले व्यापारी गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका छन्।


व्यापारीलाई बचाउने प्रयासमा लागेकी उनकी श्रीमतीले पनि विष सेवन गरेकी थिइन्। उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो ।


व्यवसायी राजीव तोमर बीजेपीमा आवद्ध भएको स्थानीय र नजिकका मानिसहरुको दाबी छ । तर, उनको परिवारका सदस्य र भाजपाका पदाधिकारीहरूले यसको पुष्टि नगरेका बीबीसी हिन्दीमा समाचार छ। 


मंगलबार दिउँसो फेसबुक लाइभमा, बागपतको बरौत सहरको कासिमपुर खेडी गाउँका निवासी राजीव तोमरले सरकारको जीएसटी र नोटबंदीको नीतिको आलोचना गरेका थिए।


जुत्ता व्यापारी राजीव तोमरको बरौतको बाओली रोडमा पसल थियो र उनी थोक व्यापारी पनि थिए । आत्महत्याको प्रयासका क्रममा उनकी श्रीमतीले त्यसो नगर्न बिन्ती गरेपछि हताश भएर आफैँले विष खाइन् ।