प्रधानमन्त्री प्रचण्डः ‘भारत भ्रमणबारे कनिकुथी विरोध गर्नुको तुक छैन’

न्युजलय २४ जेठ २०८०, बुधबार ०८:१२ मा प्रकाशित

काठमाण्डौ । आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

हुन बाँकी सहमतिलाई पनि बिगार्ने र नेपाललाई नै कमजोर बनाउने गरी आफ्नो भारत भ्रमणको विरोध गर्ने तरिका उचित नभएको प्रधानमन्त्री प्रचण्डको तर्क छ । 

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आफूले भारतसँग गरेका सहमतिका लागि राष्ट्रिय एकता प्रर्दशन गर्न पनि सबै पार्टीलाई आग्रह गरे । उनले आफूले भारतीय पक्षसँग कालापानी क्षेत्र साट्ने प्रस्ताव नगरेको पनि दोहोर्‍याए ।

उनले बरु बंगलादेश जाने बाटोको विकल्पबारे पनि नेपालका केही बुद्धिजीवीहरूले छलफलमा ल्याएको कुरा आफूले पत्रकारहरूसँगको कुराकानीमा गरेको बताए ।