भाइटीकाको उत्तम साइत कति बजे हो ?

न्युजलय १९ कार्तिक २०७८, शुक्रबार ०७:५४ मा प्रकाशित

काठमाडौ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको समितिले जनाएको छ । 

कात्तिक २० गते दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि उक्त समय शुभ रहेको समितिले जनाएको छ।

यमपञ्चकको पाँचौं दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउने गर्छन् ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ । 

भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्किदा राम्रो हुनेछ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ । शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय विश्वास रहेको छ । लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परानुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक परम्परा रहिआएको छ ।