ताप्लेजुङ । ताप्लेजुङको सिदिङवामा बाढीले याक्सा बगाएर ओढारमा अलपत्र रहेका तीन जना अहिले सम्पर्कविहीन भएका छन् । बाढी पहिरोका कारणले ओढारमा बसेका सिदिङवा गाउँपालिका–७ सुरुमखिमका २३ वर्षीय डेनिस गुरुङ, अनिता राई र उनीहरुका अढाइ वर्षकी छोरी सम्पर्कविहीन भएका हुन्।
निरन्तर वर्षासँगै बाढी पहिरोले उनीहरु बसेको याक्सा (गोठ) छेउमा पहिरो गएपछि ओढारमा बस्न परेको हो । गत सोमबार घरदेखि झन्डै एकदिनको पैदलमा रहेको गाग्रे भन्ने स्थानमा आलु खन्न र मकै गोड्न गएका थिए ।
उनीहरु बसेको ओढारको तीनतिर खोला छन् । कुलिङ खोला, पाङदा खोला र तावा खोलाको बीचमा रहेकाले उद्धार गर्न जानसमेत समस्या रहेको बताइएको छ । । स्थानीय र प्रहरी उद्धारको लागि तयारी अवस्थामा रहे पनि खोला तरेर जान समस्या भएको बताइएको छ ।
उद्धारका लागि आइतबारे नेपाली सेनाको हेलिकप्टर ताप्लेजुङ आए पनि मौसम प्रतिकूलताका कारण उद्धार हुन सकेन । आज बिहान नेपाली सेनाको हेलिकप्टर काठमाडौँदेखि ताप्लेजुङ प्रस्थान गर्ने तयारी भइरहेको सांसद योगेशकुमार भट्टराईले जनाकारी दिएका छन् ।