इटहरी । इटहरी उपमहानगरपालिकाले खोला पैनी मिचेर बनाएका संरचना भत्काउन गत भदौ १७ गते अन्तीम पटक भन्दै सात दिनको म्याद थपेको थियो । तर त्यसपछि उपमहानगरपालिका मौन देखिएको छ ।
सात दिनको म्याद २४ गते नै सकिएपनि न त अर्को म्याद थपिएको छ, न त संरचना भत्काउन सुरु नै गरिएको छ ।
उपमहानगरपालिकाले पहिलो पटक असार ३१ गते ३५ दिने म्याद जारी गर्दै सुचना प्रकाशित गरेको थियो । त्यसपछि १५ दिन र त्यसपछि फेरी अन्तीम सुचना भन्दै सात दिनको म्याद थपेको थियो । तर त्यो ७ दिन बितेको अर्को सात दिन भइसक्दा उपमहानगरपालिका आफै हराएको छ । खोला पैनी मिचेका संरचना भत्काउने चेतावनी दिएको उपमहानगरपालिकाको म्याद थपको श्रृंखला नै भत्किएको छ ।
टेंग्रा खोला, खेति खोला र सुकुमारी पैनीको दुवै किनाराबाट ६–६ मिटर छोडेर मात्र संरचना बनाउनुपर्ने कानुनी व्यवस्था सम्झाउँदै उपमहानगरपालिकाले सुचना प्रकाशन गरेको थियो । तर केही विज्ञहरुले भने खोला र पैनीको लागि उस्तै मापदण्ड गलत हुने बताउँदै आएका थिए । उपमहानगरपालिकाले यस विषयमा कुनै प्रतिक्रिया दिएको थिएन ।
टेंग्रा खोलाको ६ किलोमिटर क्षेत्रमा मात्रै ७४ वटा संरचना भत्काउनुपर्ने
खोला पैनीमा भत्काउनुपर्ने सुचीमा पर्ने संरचनाहरु यकिन गर्न उपमहानगरपालिकाले वातावरण शाखाका अधिकृत पुष्पनारायण चौधरीको संयोजकत्वमा समिति बनाएको थियो । उक्त समितिले खोला नापेर भत्काउनुपर्ने संरचनाको सुची बनाएको छ ।
इटहरी वडा नं. २ को यिप्पी ल्याण्डदेखि साथी फ्युल सम्मको क्षेत्रमा ७४ वटा संरचना ६–६ मिटरको क्षेत्रमा बनेको पाइएको र त्यसमध्ये पनि २२ वटा पक्की घरको संरचना रहेको उनले बताएका छन् ।
प्रतिवेदन बनिसकेको र उपमहानगरपालिकालाई हस्तान्तरण गरेपछि कार्यपालिकाको बैठकबाट उक्त विषय अघि बढ्ने बताइएको छ ।
इटहरीमा खोला, पैनी अझ साँघुरो बनाएर बनाइएका घर, भवनका कारण बाढी तथा डुबान हुने गरेको छ । व्यक्तिका साथै कतिपय संस्थाका भवनहरु खोला पैनी मिचेर बनाइएका छन् भने धेरै ठाउँमा पैनीमाथि स्ल्याब लगाएर हिड्ने बाटो बनाइएको छ ।