सुनकोसी जिप दुर्घटनाः भेटिएका दुवै शवको पहिचान

न्युजलय २४ जेठ २०८०, बुधबार ०१:०७ मा प्रकाशित

काठमाडौं । सुनकोसी नदीमा मंगलबार गाडीमा भेटिएका दुई शवको पहिचान भएको छ ।

मंगलबार साँझ गाडीभित्र दुईजनाको शव भेटिएको थियो । तर, उनीहरूको पहिचान हुन सकेको थिएन ।

परिवारको सहयोगमा उनीहरूको पहिचान गरिएको सिन्धुली प्रहरीले जनाएको छ । 

उनका अनुसार सीटीईभीटीको प्रशासन शाखाका निर्देशक एवं सहसचिव तनहुँको भानु नगरपालिका–९ का कृष्णबहादुर केसी र सीटीईभीटीमै विद्युत् प्रशिक्षकका रूपमा कार्यरत इलामका भानु पौडेलको शव भेटिएको हो ।

पोस्टमार्टमका लागि दुवै शव काठमाडौं ल्याइएको छ । गत शुक्रबार भक्तपुरको सानोठिमीस्थित सीटीईभीटीबाट खोटाङ जाने क्रममा बीएबी ७४६७ नम्बरको स्कोर्पियो जिप दुर्घटनामा परेको थियो । गाडीका चालक पौडिएर बाहिर निस्किएका थिए भने तीनजना बेपत्ता भएका थिए ।

सीटीईभीटीकै योजना महाशाखाका निर्देशक पूर्वी नवलपरासीका यमप्रसाद भुर्तेलको अवस्था अज्ञात छ ।