रुकुमपूर्व । रुकुमका विकट गाउँहरुमा पछिल्लो समय बालविवाह बढेको छ । भागेर बाल अवस्थामै बिहे गर्ने क्रम बढ्नुको मुख्य कारक मोबाइल र सामाजिक सञ्जालको प्रयोग रहेको पाइएको छ ।
गाउँपालिकामा अधिकांशको १३ देखि १७ वर्ष उमेरमै बिहे हुन थालेको छ । पुथाउत्तरगङ्गा माध्यमिक विद्यालयका शिक्षक अइनश्वर पुनमगरले मोबाइल फोनको प्रयोगले केटा केटीबिच सम्पर्क स्थापित हुने र छिटो बिहे गर्ने निर्णयमा विद्यार्थी पुग्ने गरेका छन् ।
अधिकांश बालिकाहरुले कक्षा ६ देखि ८ पढ्दा पढ्दै बिहे गर्ने गरेका छन् । छिटफुटले कक्षा ९ र १० मा पुगेपछि बिहे गर्छन् ।
आमा बन्न कम्तीमा २० वर्षको हुनुपर्छ भन्नेमा स्थानीय बासिन्दा सचेत छन् तर बुझ्दा बुझ्दै पनि कलिलै उमेरमा आमा बन्ने क्रम रोकिएको छैन । स्थानीय स्वास्थ्य कार्यालयका अनुसार संस्थामा गर्भ जाँच गराउन आउनेमध्ये ४० प्रतिशत महिला २० वर्षभन्दा कम उमेरका हुने गरेका छन् ।
बालविवाह रोक्न विभिन्न प्रयास जारी छ । तर कतिपय अवस्थामा त बालविवाह गुपचुप राखिन्छ । प्रहरीमा उजुरी पुग्दैन ।