काठमाडौँ । बुधबार स्थगित राष्ट्रिय सभाको बैठक बिहीबार(आज) बस्दैछ । बैठक आज दिउँसो बस्न लागेको हो ।
बुधबार दिउँसो साढे २ बजे बैठक सुरु भएलगत्तै नेकपा एमालेका सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरुद्ध गरेको थियो ।
एमालेले प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरुद्ध गरेको हो ।
एमालेको विरोधपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए ।
निर्धारित समयमा बैठक बस्न नसकेपछि संसद् सचिवालयले पुनः ४ः४६ बजे बैठक बस्ने सूचना जारी गरे पनि सो समयमा पनि एमालेको अवरोध कायमै रह्यो ।
अन्ततः बुधबार राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बैठक स्थगित गर्दै बिहीबारका लागि बोलाएका थिए ।
एमालेसहित विपक्षी दलले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेका छन् । आज पनि विपक्षी दल प्रधानमन्त्रीको राजीनामा माग गर्ने अडानमा छन् ।