कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्दै

न्युजलय ११ बैशाख २०७९, आइतबार ०१:१६ मा प्रकाशित

काठमाडौं । कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोषणापत्र आज (आइतबार) सार्वजनिक गर्ने भएको छ । कांग्रेसले लोकतन्त्र दिवसको अवसर पारेर महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्र सार्वजनिक गर्न लागेको हो । 


समिति सदस्य अजयबाबु शिवाकोटीका अनुसार घोषणापत्र पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम छ । उनका अनुसार घोषणापत्रमा सामाजिक सुरक्षा, स्वास्थ्य शिक्षाजस्ता विषयलाई विशेष प्राथमिकतामा राखिएको छ । त्यस्तै, घोषणापत्रमा कांग्रेसले गर्ने र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगर्ने कामलगायतलाई समेत समेटिएको छ । 


घोषणापत्रमा समग्र स्थानीय सरकारलाई हेर्ने कांग्रेसको दृष्टिकोण, स्थानीय सरकारलाई सबल बनाउन प्रतिबद्धता, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा जनजीविकासँग सम्बन्धित विषय तथा कांग्रेसका प्रमुख रहेका पालिकाहरूका उत्कृष्ट अभ्यासलगाायतका विषयलाई समेटिएको छ । कांग्रेसले स्थानीय तहले सम्बन्धित स्थानीय तहको आवश्यकता र महत्वलाई हेरेर घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ ।