काठमाडौं । मधेस प्रदेशको राजधानी जनकपुरधाममा सोमबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संविधान दिवसलाई कालो दिवसको रूपमा मनाएको छ । ३ असोज ०७२ मा जारी संविधान र दिनलाई कालो दिन र संविधान भन्दै लोसपाले यस दिनलाई कालो दिवसको रूपमा मनाएको हो ।
यो संविधानले संघीय गणतान्त्रिक व्यवस्था, धर्मनिरपेक्षलाई संस्थागत गरेको भन्दै लोसपाले कालो संविधानको संज्ञा दिएको छ । कालो ब्यानर र टाउकोमा कालै फेटा बाँधेर सडकमा लोसपाका नेता कार्यकर्ताहरूले संविधानको दिवसको विरोधमा र्यालीसमेत निकालेका छन् ।
र्याली शान्तिपूर्ण भए पनि सुरक्षा व्यवस्था भने कडा गरिएको थियो । लोसपा नेपालले विरोध र्यालीपछि कोणसभाको आयोजना गरेको थियो जसमा लोसपाका नेताहरूले संविधान संशोधन नभएसम्म संविधानको विरोधमा कालो दिवस मनाउने चेतावनी दिए ।
जबसम्म संविधान संशोधन हुँदैन, तबसम्म कालो दिवसलाई निरन्तरता दिने लोसपा नेपाल धनुषाका अध्यक्ष परमेश्वर साहले बताए । अहिले राष्ट्रमा एकल पहिचानको आधारमा राष्ट्रियतालाई परिभाषित गरिएकाले जबसम्म सम्पूर्ण जाति, समुदाय, धर्मको आधारमा राष्ट्रियता परिभाषित हुँदैन, तबसम्म आन्दोलन जारी रहने उनले बताए ।
उनले आफ्नो पार्टीको निर्णय अनुसार आफूहरू संविधान दिवस नमनाएर यसको विरोधमा रहेको बताए ।
संविधान जारी भएको दिनलाई विगतदेखि ‘कालो दिवस’ का रूपमा मनाउँदै आएको जनता समाजवादी पार्टी नेपालले भने यस पटक ‘संविधान दिवस’ कै रूपमा मनाएको छ । संविधान दिवसको अवसरमा शुभकामना दिँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको माग गरेका छन् ।
उनले संविधान भनेको मौलिक सिद्धान्तहरू वा स्थापित पूर्वाधारहरूको समुच्चय रहेको र संविधानले हरेक नागरिकलाई आफ्नो राष्ट्रियतासँग एकताबद्ध गराउन मद्दत गर्नुपर्ने बताए ।
उता, वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टीले आजको दिनलाई कालो दिवसको रूपमा मनाएका छन् ।