कोशी प्रदेशमा मध्य पहाडी लोकमार्ग अभियानको तयारी तीव्र

न्युजलय १० मङ्सिर २०८०, आइतबार ०७:३० मा प्रकाशित

धरान । नेकपा (एमाले) ले मंसिर १४ गतेदेखि सञ्चालन गर्ने मध्य पहाडी लोकमार्ग अभियानलाई कोशी प्रदेशमा प्रभावकारी बनाउन तयारी तीव्र बनाइएको छ । नेकपा (एमाले) कोशी प्रदेशले विभिन्न ठाउँहरुमा कार्यक्रमको खाका बनाएर सोअनुसार पार्टीपंक्तिलाई परिचालन गरेको छ ।

सुदूरपरिश्चम प्रदेशको बैतडी जिल्लाको झुलाघाटदेखि कोशी प्रदेशको पाँचथरअन्तर्गत चिवाभञ्ज्याङसम्म ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानअन्तर्गत अन्तर्गत कोशी प्रदेशमा तीन ठाउँ सभा गर्ने भएको छ । 

मंसिर २६ गते अभियान टोलीलाई स्वागतसहित उदयपुरको घुर्मीमा जनसभा हुनेछ । मंसिर २८ गते तेह्रथुमको बसन्तपुर र मंसिर ३० गते पाँथरको फिदिममा विशाल सभा हुने कोशी प्रदेश सदस्य तथा प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले जानकारी दिए ।

अभियानले पहाडको जैविक विविधता, जलस्रोत सम्पदा, फलफूल तरकारी र जडिबुटिजन्य कृषिको सम्भाव्यता, सामाजिक सांस्कृतिक तथा जातिय सद्भावलाई उजागर गर्ने प्रमुख तिवारीले बताए ।

आइतबार इटहरीमा प्रचार विभाग प्रमुख लक्ष्मण तिवारी, जनसंगठन संयन्त्र प्रमुख बाबुराम थापा, ट्रेड युनियन इन्चार्ज भीमज्वाला राई, केन्द्रीय प्रचार विभाग सदस्य लिलाराज भट्टराई, युवा विभाग ईन्चार्ज सावित्रा राई, साहित्य, कला, संस्कृति विभाग उपप्रमुख जेबी थुलुङ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी अध्यक्ष गौरी लामा, अनेरास्ववियु प्रदेश अध्यक्ष जीवी गजल र राष्ट्रिय युवासंघ प्रदेश अध्यक्ष अरुण गुरुङ लगायतको उपस्थितिमा छलफल भएको थियो ।

कोशी प्रदेशभित्र हुने हरेक आमसभाहरुमा न्युनतम २५ हजार जनाको सहभागीता रहने र साँस्कृतिक कार्यक्रमहरु गरिने नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख बाबुराम थापाले जानकारी गराए ।

लोकमार्गमा पर्ने घुर्मि, हर्कपुर, हलेशी, दित्तेल, चखेवा डाँडा, भोजपुर बजार, लेगुवा, पाख्रिबास, हिले, सिधुवा, बसन्तपुर, लसुने, जिरीखिम्ति, म्याङलुङ, संक्राति बजार, छातेढुङ्गा, चुहानडाँडा, जोरसाल, फिदिम, गणेशचोक, थर्पु र च्याङथापुमा स्वागत गेटहरु निर्माण गरिने थापाले बताए ।

अभियानमा एमालेले पश्चिमदेखि पुर्वसम्म १८७९ किलोमिटर लामो यात्रा तय गर्नेछ । एमालेले अभियान मध्य पहाडी लोकमार्गले छोएका जिल्लाहरूमा विभिन्न कार्यक्रम गर्ने छ । 

एमालेले यो अभियानलाई जनतासँग जोड्ने अभियानको रुपमा अघि बढाएको छ ।