मेयर उपमेयर निलम्बनमा परेपछि कार्यवाहक को ?

न्युजलय ३२ जेठ २०८१, शुक्रबार ०२:१९ मा प्रकाशित

काठमाडौँ । भ्रष्टाचार आरोपमा देशभरका तीन वटा स्थानीय तहका प्रमुख र उपप्रमुख निलम्बनमा परेपछि नगरपालिका कसले नेतृत्व गर्ने भन्ने अन्योल देखिएको छ । 


कानुनमा मेयर र उपमेयर निलम्बनमा पर्दा कार्यवाहक जिम्मेवारी कुन जनप्रतिनिधिलाई तोक्ने भन्नेबारेमा स्पष्ट व्यवस्था नहुँदा यो समस्या देखिएको हो ।


ललितपुरको गोदावरी, सर्लाहीको वाग्मती र महोत्तरीको जलेश्वर नगरपालिका प्रमुख र उपप्रमुख भ्रष्टाचार आरोपमा निलम्बनमा परेका छन् । 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरीका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनाविरुद्ध खानी तथा खनिजजन्य वस्तुको बिक्रीबाट प्राप्त हुने राजस्व हिनामिना गरेको अभियोगमा जेठ २१ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 


निलम्बनपछि बसेको कार्यपालिका बैठकले टुंगो लगाउन सकेन । पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखी कार्यवाहकको गाँठो फुकाउन अनुरोध गरेका थिए । 


भ्रष्टाचार आरोपमा वाग्मतीका मेयर भरतबहादुर थापा र उपमेयर लीलाकुमारी मोक्तान निलम्बनमा छन् । थापाविरुद्ध अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा यही चैतमा मुद्दा दायर गरेको थियो । थापा निलम्बनमा परेपछि कार्यवाहक नगर प्रमुखमा उपमेयर मोक्तानले काम गर्दै आइरहेकी थिइन् । तर, जेठ २९ मा अख्तियारले निलम्बित नगर प्रमुख थापा र उपप्रमुख मोक्तानसहित ६ जनाविरुद्ध सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको कसुरमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।


महोत्तरीको जलेश्वर नगरपालिकामा भने हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले नगर प्रमुख सुरेश साह सोनार र उपप्रमुख रौशन खातुनलगायत ११ जनाविरुद्ध वैशाख २७ मा मुद्दा दायर गरेको थियो । 


समयमै कार्यवाहक तोक्न नसक्दा आगामी आर्थिक वर्षको वार्षिक योजना तथा बजेट तर्जुमा गर्न र विषयगत समितिको बैठक बस्न समस्या भएको छ । 


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्ट कानुनी व्यवस्था नभएको कारण समस्या भएको जनाउँदै छिटै निकास निकाल्ने जनाएको छ