ज्येष्ठ नागरिकको आफन्तले सुविधा लिएको भन्दै निःशुल्क यातायात सेवा कटौती

न्युजलय १३ असोज २०८०, शनिवार ११:५२ मा प्रकाशित

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ देखि शुरु गरिएको ज्येष्ठ नागरिक निःशुल्क यातायात सेवा कटौती गरेको छ । 


गाउँपालिकाका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क यात्राका लागि दिप्रुङ चुइचुम्मा गाउँपालिका र खोटाङ यातायात प्रालिबीचमा भएको सम्झौता अनुशार निःशुल्क यातायात सेवा पाउने ज्येष्ठ नागरिकलाई परिचय–पत्र वितरण गर्ने र त्यही परिचय–पत्र देखाएर निःशुल्क यात्रा गर्ने व्यवस्था गरिएको थियो ।  


प्रभावकारी मापदण्ड अभावमा कतिपय ज्येष्ठ नागरिकका आफन्तले टिकट देखाएर निःशुल्क यातायात सेवा लिएको पाइएपछि ज्येष्ठ नागरिक निःशुल्क यातायात सेवा कटौती गरिएको गाउँपालिकाले जनाएको छ । 


तत्कालीन गाउँपालिका अध्यक्ष भुपेन्द्र राई र उपाध्यक्ष सपना राई नेतृत्वको स्थानीय सरकारले ज्येष्ठ नागरिक निःशुल्क यातायात सेवा शुरु गरेका थिए । तर, लक्षित वर्गको नाममा परिवारका अन्य व्यक्तिले दुरुपयोग गरेर सुविधा लिएको पाइएका कारण ज्येष्ठ नागरिक निःशुल्क यातायात सेवा कटौती गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।