प्रकाशनमा आयो कक्षा ५ सम्मको लागि ‘इटहरी सेरोफेरो’

न्युजलय १२ मङ्सिर २०८२, बिहिबार ०५:५७ मा प्रकाशित

इटहरी । इटहरीका बालबालिकाको लागि स्थानीय पाठ्यक्रमअन्तर्गत इटहरी सेरोफेरो पाठ्यपुस्तक प्रकाशनमा आएको छ । कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि तयार पारिएको ‘इटहरी सेरोफेरो’ पाठ्यपुस्तक हालै एक कार्यक्रमका बिच सार्वजनिक गरिएको पुस्तक छ l


इटहरीका बालबालिकालाई आफ्नै माटो, समाज, संस्कृति र इतिहाससँग जोड्ने आधार भएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताएका छन् । उनले आगामी दुई महिनाभित्र कक्षा ६ देखि ८ सम्मको पुस्तक पनि प्रकाशनमा आउने जानकारी दिए ।


“हाम्रा बालबालिकाले आफ्नै शहरलाई किताबमा पढ्न पाउनु केवल शिक्षा विकास होइन, पहिचान निर्माण पनि हो,  ‘इटहरी सेरोफेरो’ले उनीहरूलाई गर्व, ज्ञान र जमीनसँगको सम्बन्ध एकैसाथ दिएको छ,” उनले भने ।


स्थानीय इतिहासकार, शिक्षक, लेखक, विषयविज्ञ र समुदायको सुझाव संकलन गरी तयार गरिएको यो पुस्तकबाट इटहरीका स्थानीय विषयवस्तुहरुबारे विद्यार्थीले जानकारी लिन सक्नेछन् । 


इटहरी सेरोफेरो पुस्तक प्रकाशन हुनुअघिसम्म हिमाल दाहालले सम्पादन गरेको इतिहासमा इटहरी पुस्तकलाई आधार बनाएर पठन पाठन भइरहेको थियो ।