काठमाडौं । श्रीलंकामा चलिरहेको आर्थिक संकटका कारण विद्यालय स्तरीय परीक्षा समेत स्थगित भएको छ ।
कागजको अभावका कारण परीक्षा स्थगित गर्नुपरेको अधिकारीहरूले बताएका छन् । विदेशबाट वस्तु आयात गर्नका लागि श्रीलंकासँग डलरको पर्याप्त सञ्चिति छैन ।
शिक्षा अधिकारीहरूले सोमवारदेखि हुन लागेको परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको बताए । सन् १९४८ मा स्वतन्त्र भएदेखि पहिलोपटक श्रीलंका यति भयावह आर्थिक संकटमा परेको हो ।
मुद्रण व्यवसायीहरूले आवश्यक कागज र मसी आयात गर्न विदेशी मुद्रा सञ्चिति गर्न नसकेकाले विद्यालयका प्रधानाध्यापकहरूले परीक्षा लिन नसकेको पश्चिमी प्रान्तको शिक्षा विभागले जनाएको छ ।
कक्षा ९, १० र ११ को परीक्षा स्थगित गरिएको हो ।