काठमाडौं । पाँच महिनाको खडेरीका कारण तान्जानियामा घर पालुवा गाई, बाख्रा, भेडा गधासहित तीन लाख छ हजार ३५८ जनावरको मृत्यु भएको पशुपालन तथा मत्स्य पालन मन्त्रालयले शुक्रबार जनाएको छ।
पशुपालन तथा मत्स्य पालन मन्त्री माशिम्बा एनडिकीले जनवरीमा मन्त्रालयका विशेषज्ञहरूले गरेको आँकलनअनुसार लामो सुक्खाको कारण पानी र चरनको अभावले गर्दा सेप्टेम्बर २०२१ देखि जनवरी २०२२ अन्त्यसम्ममा ती जनावरहरूको मृत्यु भएको हो।
अरुशा, किलिमन्जारो, मरोरा, मोरोगोरो, टांगा र कोस्टमा यी जनावरहरू मरेका हुन्। यो छ वटा क्षेत्रमा मौसमी वर्षापछि लामो सुक्खाका कारण चौपाया लगायतका जङ्गली जनावरहरू प्रभावित भएका एनडीकीले सिन्हुआलाई बताए।
सरकारले पशुहरूलाई थप मृत्युबाट बचाउने उद्देश्यले विभिन्न उपायहरू अपनाएको छ, जसमा गाईलाई किर्नाबाट जोगाउन गाईवस्तु डुबाउने पोखरीहरूको निर्माण गरिएको छ।
पशुपन्छीलाई पानी उपलब्ध गराउन पशुपंक्षी तथा मत्स्य मन्त्रालयको सहयोगमा छनोट गरिएका क्षेत्रमा बोरीङहोल खन्दै आएको मन्त्रालयले बताएको छ।