अडियो प्रकरणबारे आरजु भन्छिन्ः मलाई विवादमा ल्याउन खोजियो

न्युजलय २५ असार २०८०, सोमबार ०९:०६ मा प्रकाशित

काठमाडौं । डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झुटो भएको बताएकी छन् । 

उक्त अडियोको अनुसन्धान गर्न उनले प्रहरीमा दिएको उजुरीको छानबिनबाट पनि सो प्रमाणित भएको उनको भनाइ छ ।

उक्त अडियो संवादमा एक व्यक्तिले अर्का कोही व्यक्तिसँग डा. राणा र मञ्जु खाँणलाई रकम बुझाएको बताएका थिए । त्यो आवाज हाल अनुसन्धानमा रहेका दाङका सन्देश शर्माकै रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सो अडियोको छानबिन गर्न डा. राणाले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन् । आफूलाई जोडेर ‘फेक अडियो’ बद्नियतपूर्ण रूपमा रेकर्ड गराइएको भन्दै सो अडियो कसले बनाएको हो र सामाजिक सञ्जालमा कसले राखेको हो भन्ने विषयको अनुसन्धान गरी दोषीमाथि कारबाही गरिपाऊँ भनी उनले गएको वैशाख २७ गते उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा अनुसन्धान गरेको प्रहरीले सो आवाज शरणार्थी प्रकरणका आरोपित सन्देश शर्माको आवाजको ‘स्याम्पल’सँग मेल खाएको आइतबार जानकारी गराएको छ ।