काठमाण्डौ । दिल्लीमा एक महिला सामूहिक बलात्कारको शिकार भएकी छिन् । दिल्ली महिला आयोगले गाजियाबाद पुलिसलाई ३८ वर्षीया महिलाको सामूहिक बलात्कारको सम्बन्धमा नोटिस पठाएको छ ।
आयोगकी प्रमुख स्वाती मालिवालले यो घटनाले आफूलाई निर्भया बलात्कार प्रकरणको सम्झना गराएको बताएकी छिन् ।
दिल्लीकी पीडित महिला बोरामा फेला परेको आयोगले जनाएको छ । आयोगका अनुसार उनको हात खुट्टा बाँधिएको अवस्थामा फेला परेकी थिइन् भने उनको गुप्ताङ्गमा फलामको रड थियो ।
आयोगका अनुसार ती महिला गाजियाबादमा अटोरिक्शाको प्रतीक्षामा थिइन् । घटना १६ अक्टोबरको हो । ती महिला आफ्नो भाइको जन्मदिनमा सहभागी हुन जान लागेकी थिइन् । सोही समयमा चारजनाले महिलालाई अपहरण गरेर आफ्नो एसयूभीमा लगेका थिए ।
यी चारजनासँगै अर्का एक व्यक्तिले महिलालाई दुई दिनसम्म सामूहिक बलात्कार र यातना दिएको आरोप छ । आयोगका अनुसार ती महिलाको दिल्लीको अस्पतालमा उपचार भइरहेको छ भने उनको अवस्था ‘अत्यन्तै नाजुक’ रहेको छ ।