तराईमा आगामी पाँच दिनसम्म तातो हावा चल्ने, घरबाहिर ननिस्कन सुझाव

न्युजलय २० जेठ २०८०, शनिवार ०४:०९ मा प्रकाशित

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

देशको अधिकांश भू–भागको अधिकतम् र न्यूनतम तापक्रम् बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम् तथा न्यूनतम् तापक्रम वृद्धि भइरहेको छ  । देशको तराई भू–भागमा, मुख्यतयाः मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको छ ।

काठमाण्डौ उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार तराई भू–भागहरूमा आगामी पाँच दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेको छ । 

तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान महाशाखाले आग्रह गरेको छ ।