लिफ्ट मागेका तीन भारतीयले लुटे गाडी

न्युजलय १३ असार २०७९, सोमबार ०९:३६ मा प्रकाशित

धनगढी । लिफ्ट दिएर सँगै ल्याएका भारतीय एक समूहले कैलालीको बुढीतोलामा एक कर्मचारी लुटेका छन् । 

कैलालीको गोदावरी नगरपालिका–५ स्थित बुढीतोलामा डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको सामग्री र कार लुटेर भगेका हुन् । 

लुटेराले भण्डारीलाई चक्कु प्रहार गरी कुटपिटसमेत गरेका छन् । उनलाई लुटेराले बाँधेर फरार भएका थिए । लुटेराले भण्डारीकोे प्रदेश ०१–२३–च ६०२१ नम्बरको कारसमेत लुटेर लगेका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरको दैजी घर भएका कम्प्युटर अपरेटर भण्डारी आइतबार महेन्द्रनगरबाट डडेल्धुरा जान हिँडेका थिए । 

तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको हो । घाइते भण्डारीको अहिले अत्तरियाको पदमा अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ ।