नवरात्रको आठौँ दिन आज महाअष्टमी पर्व मनाइँदै

न्युजलय ५ कार्तिक २०८०, आइतबार ०५:३५ मा प्रकाशित

काठमाडौ । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा–आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ । यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमीमा नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा–आराधना गरी भव्य रूपमा मनाउँछन् । आजको दिन पशु बलि दिइने चलन छ ।


ब्राह्मणका लागि भने पशुबलि वर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्त्व रहेको धर्मशास्त्रविद्हरूको भनाइ छ । राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ । यी तीनवटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ । यसैकारण आजको दिन विधिपूर्वक पशुबलि दिने गरिएको हो ।