मन्त्री श्रेष्ठमाथि कार्यकक्षमै हातपातको प्रयास

न्युजलय २७ जेठ २०७९, शुक्रबार ०१:५६ मा प्रकाशित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि सिंहदरबारस्थित कार्यकक्षमै हातपातको प्रयास भएको छ । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेतासमेत रहेका मन्त्री श्रेष्ठलाई सोही पार्टीका सांसद रामबाबु यादवले दुर्व्यवहार गर्दै हातपात गर्न खोजेका हुन् ।


आज (बिहीबार) दिउँसो मन्त्रीको कार्यकक्षमा पुगेका सांसद यादवले आफूले सिफारिस गरेका योजनाहरु बजेटमा नपरेको भन्दै आक्रोश पोखेका थिए । त्यसपछि उनी भौतिक हमलामा उत्रिएको बताइएको छ ।


त्यतिबेला जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि त्यहिँ थिए । सांसद यादवले आफूले मन्त्रीमाथि हात नगरेको दाबी गर्दै आफ्ना कुरा नसुनेपछि टेबल ठोकेको स्वीकारे ।