काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले एमाले अध्यक्ष केपी ओलीलाई भेटेका छन् । बालकोटस्थित घरमै पुगेर उनले भेट गरेका हुन् ।
ओलीसँग भेटेपछि सांसद शर्माले अब एमाले र काँग्रेस मिलेर सरकार बनाउनुपर्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतंककारीको संज्ञा दिँदै पदबाट राजीनामा दिनुपर्ने बताए ।
आफूले जनताको पक्षमा बोलेकाले ज्यानको सुरक्षामा खतरा रहेको उनले बताए । उनले आगामी दिनमा आफू कांग्रेसको नेतृत्व गर्ने व्यक्ति भएकाले एमाले प्रवेश गर्ने कुरामा सत्यता नभएको बताए ।
उनले भने, ‘हाम्रो पक्ष गठबन्धनको पक्षमा थिएन । अहिले हामी जति प्रचण्डको नेतृत्वमा बस्छौं त्यति कांग्रेस खिइन्छ ।’
शुक्रबार काठमाडौं जिल्ला अदालतले थुनाका राख्न नपर्ने आदेशपछि शर्मा छुटेका थिए । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सीआईबीले उनलाई पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि एमाले सांसदहरुले संसदमा चर्को विरोध गरेका थिए । अदालतको आदेशमा छुटेपछि शर्माले केपी ओली राष्ट्रनायक भन्दै जिन्दावादको नारा लगाएका थिए ।