मोरङमा २५ जना बढीको भेलामा रोक

न्युजलय २९ पुस २०७८, बिहिबार ०६:३२ मा प्रकाशित

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले २५ जना भन्दाबढीको संख्यामा उपस्थिति हुने कार्यक्रम नगर्न निर्देशन दिएको छ।

बिहीबार(आज) मध्यरातदेखि अर्को सूचना नहुञ्जेलका लागि प्रशासन कार्यालयले कोभिड नियन्त्रण तथा रोकथामका लागि निर्देशन दिँदै २५ जनाभन्दा बढीको सहभागितामा कार्यक्रम नगर्न भनेको हो । २५ जना भन्दा बढी हुने भोजभतेर, मेला, महोत्सव एवं सामाजिक कार्यमा रोक लगाएको हो।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले यसअघि अनुमति लिएका विभिन्न महोत्सव, मेला, भेला तथा खेलकुदका कार्यक्रम स्थगन गर्ने जानकारी दिए। कोभिड रोकथाम, सम्बन्धी चेतनामूलक कार्यक्रम स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने उनले प्रष्ट पारेका छन् ।