नयाँ वर्षमा पशुपतिनाथमा दर्शनार्थीको भिड, चार वटै ढोका खुला

न्युजलय ३१ चैत २०७८, बिहिबार ०२:१० मा प्रकाशित

काठमाडौं । नयाँ वर्षको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भिड लागेको छ ।


दर्शन गर्ने भक्तजनको भिड बढेपछि दर्शनका लागि विशेष व्यवस्था गरिएको छ । आज बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।


आज पशुपतिनाथ आउने भक्तजनलाई उत्तर, पश्चिम र दक्षिण मूल ढोकाबाट दर्शन गर्न जान सक्ने गरी व्यवस्था गरिएको छ ।


पश्चिम मूलढोकामा विशेष सजावट पनि गरिएको छ । महानगरीय प्रहरी वृत्त गौशालासँग थप जनशक्ति लिएर शान्ति सुरक्षाको प्रबन्ध पनि मिलाइएको कोषको संस्कृति महाशाखा प्रमुख पराजुलीले बताए । नयाँ वर्षका अवसरमा विशेष पूजा गर्न चाहने भक्तजनका लागि पनि व्यवस्था मिलाइएको छ।


विगतका वर्षमा पनि नयाँ वर्षको पहिलो दिन वैशाख १ गते पशुपतिनाथ मन्दिरमा भक्तजनको भिड लाग्ने गरेको थियो । 


यस्तै काठमाण्डौको गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको बाग्द्वार, टोखा नगरपालिकाको सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरको चम्पादेवीमा लाग्ने जात्रासहित देशभरका मठमन्दिरमा पनि भक्तजनको चहलपहल छ ।