एमसीसी संसदबाट अनुमोदन, कार्यान्वयनको बाटो खुल्यो

न्युजलय १६ फाल्गुण २०७८, सोमबार ०१:०६ मा प्रकाशित

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले एमसीसी सम्झौता संसदबाट अनुमोदन गरेको हो ।


नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले संशोधनविना एमसीसी पारित गर्न नसकिने अडान राखेपछि सरकारले व्याख्यात्मक घोषणा बनाएर विषय प्रष्ट पार्दै सम्झौता अनुमोदन गरेको हो । 


यो सम्झौता पारित गरियोस् भन्ने प्रस्ताव अर्थ मन्त्री जनार्दन शर्माले पेस गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले ध्वनि मतका आधारमा एमसीसी सम्झौता पारित भएको घोषणा गरे । 


यसअघि यो प्रस्तावसम्बन्धी व्याख्यात्मक घोषणा प्रस्तावमाथिको छलफलमा भाग लिँदै सत्तारुढ दलका सांसदहरूले सम्झौतामाथिको आशङ्का व्याख्यात्मक घोषणामा समेटिएको उल्लेख गर्दै अब ढुक्कसँग पास गर्न उपयुक्त हुने धारणा राखेका थिए । यस्तै यसको विरोध गर्ने सांसदहरूले व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्ने प्रावधान नभएको भन्दै आपत्ति जनाएका थिए ।


यसैबीच प्रतिनिधि सभाको अर्को बैठक यही फागुन १८ गतेका लागि बोलाइएको छ ।