उडान बन्द गर्ने वायुसेवा कम्पनिको घोषणा, प्राधिकरणले भन्यो– ‘बन्द गर्न पाइन्न’

न्युजलय ७ असार २०७९, मङ्गलबार १०:०२ मा प्रकाशित

काठमाडौ । वायुसेवा सञ्चालक संघ नेपालले भोलिदेखि हेलिकप्टर र विमान कम्पनीका नियमित उडान बन्द गर्ने बताएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले बन्द गर्न नमिल्ने स्पष्ट पारेको छ । 

हवाइजहाज तथा हेलि कम्पनीहरुको संघले ५ बुँदे माग अघि सार्दै पूरा नगरे भोलिदेखि सेवा स्थगित गर्ने जनाएका हुन् । अघि सारिएका मागहरुमा यात्रु सेवा शुल्क ल्याण्डिङ्ग, पार्किङ्ग, नेभिगेशन लगायतका सम्पूर्ण शुल्क बृद्धि फिर्ता लिनुपर्ने, त्रिअवि विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मतसम्भारका लागि ह्याङरलगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने रहेका छन्। 

त्यस्तै हालसम्म भइरहेकै व्यवस्थाअनुसार त्रिअविलगायतका विमानस्थलहरुबाट सम्पूर्ण विमानसेवा कम्पनीहरुले विना अवरोध सेवा यथावत् सञ्चालन गर्न पाउनुपर्ने, नेपाललाई युरोपियन युनियनको हवाइ सूरक्षाको सूचिवाट हटाउनका लागि पहल गरिनुपर्ने लगायतका माग छन् ।

यता प्राधिकरणले भने विमान सेवा बन्द गर्न नपाइने जनाउँदै कारबाही गर्ने संकेत गरेको छ । प्राधिकरणले त्रिभुवन विमानस्थलमा क्षमतालाई दृष्टिगत गरी ६६ प्रतिशत उडान काठमाडौंबाहिरका विमानस्थललाई बेस बनाएर हुनुपर्ने बताएको छ।