ड्रागन बोट रेसको उपाधि चीनकै सिचुवानलाई, नेपाली टोली नारा दोस्रो

न्युजलय ९ असार २०८०, शनिवार ०८:१३ मा प्रकाशित

पोखरा । पोखरामा भएको ‘नेपाल–चीन ड्रागन बोट रेस फेस्टिबल’ को उपाधि चीनकै सिचुवान ड्रागन बोटले जितेको छ।

शनिबार भएको फाइनल स्पर्धामा २ र ५ सय मिटरको उपाधि सिचुवानले हात पारेको हो।

दुवै विधामा सिचुवानले नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सी (नारा ड्रागन बोटरेस) लाई पराजित गरेको हो।

उपाधि विजेता सिचुवानले दुवै विधामा ५ लाख ५० हजार रुपैयाँ नगदसहित ट्रफि प्राप्त गरेको छ। उपविजेता बनेको नाराले दुवै विधामा ३ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ।

चीनको युनान ड्रागन बोटले नेपालको एनआरसिए ड्रागन बोटलाई पराजित गर्दै दुवै विधामा तेस्रो स्थान हासिल गरेको छ।

युनानले दुवै विधामा २ लाख रुपैयाँ हात पारेको छ। नेपालको ४ र चीनको ४ गरी ८ समूहले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

शुक्रबार पहिलो चरणको खेलबाट ४ टोली बाहिरिए। प्रतियोगितामा सहभागी सबै समूहले १–१ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

चीनको करिब २ हजार वर्ष पूरानो मौलिक पर्व ड्रागन बोटरेस फेस्टिबल दक्षिण एसियामै नेपालमा पहिलो पटक मनाइएको हो।

बोटरेसका लागि चीनबाट केरुङ नाका हुँदै फाइबारका विशेष डुंगा ल्याइएको थियो। ती डुंगा चीनले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ।