काठमाडौं । साउदी अरबमा थप १० नेपाली युवा अलपत्र परेका छन् ।
मेरिडियन म्यानपावर सर्भिस काठमाडौँमार्फत करिब १ महिना अघि त्यहाँ पुगेका ६ जना र दुई महिना अघि गएका ४ जना साउदीको रादिक भन्ने ठाउँमा अलपत्र परेको पीडित राजदूत तामाङले जानकारी दिए ।
साउदीस्थित कन कन्स्ट्रक्सन कम्पनीमा मेसन कामको लागि गएका उनीहरु कम्पनीले तलब नदिएपछि समस्यामा परेका हुन्। खानाको लागि पैसा माग्दा ५०र१०० साउदी रियाल मात्र दिएको पीडितहरूले बताएका छन्।
म्यानपावरलाई प्रतिव्यक्ति १ लाख ६० हजारदेखि २ लाख ३० हजारसम्म बुझाएर त्यहाँ पुगेका उनीहरूलाई १२ सय प्लस ३ सय रियाल कमाई हुने आश्वासन दिइएको थियो। खानाको लागिसमेत पैसा नदिएपछि पानी पिएर काम गर्नु परेको तर कम्पनीका प्रतिनिधिले तनाव दिने गरेको पीडितहरूले बताएका छन् । बाहिरको पानी पिएर केही साथी बिरामीसमेत परेको उनले बताए।
रियादस्थित नेपाली दूतावासलाई जानकारी गराउँदा पनि पहल नभएको उनले बताए । उनीहरुले साउदीमा जीवन सुरक्षित नभएकोले नेपाल फिर्ता गर्ने वातावरण मिलाइदिन नेपालस्थित श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत विभिन्न मानवअधिकारवादी सङ्घसंस्थालाई अपिल गरेका छन्।
मेरिडियन म्यानपावर सर्भिस प्रालिका सञ्चालकलाई पटक-पटक सम्पर्क गर्दा पनि बोल्न चाहेनन् । समस्या सुन्नै नमान्ने म्यानपावरमा आफन्त पठाउँदा ‘भाइहरू आत्तिएको मात्र हो सबै ठिक हुन्छ’ भनेर जवाफ दिने गरेका पीडितहरूले बताए ।
अलपत्र पर्नेहरूमा अशोक यादव, राजेन्द्र पासवान, धमेन्द्र कुमार यादव, काशीन्द्र दस, पदमबहादुर तामाङ, राजदुत तामाङ लगायत अन्य चार जना रहेका छन्।