धरानलगायत चार स्थानको तापमानमा रेकर्ड ब्रेक

न्युजलय २६ जेठ २०८०, शुक्रबार १२:४९ मा प्रकाशित

काठमाण्डौ । गर्मी लगातार बढ्दै जाँदा अधिकतम तापक्रमले कतिपय ठाउँमा रेकर्ड ब्रेक गर्न थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लोपटक नवलपुरको दुम्कौली, धरान बजार, इलामको कन्याम चिया बगान र ओखलढुंगामा अधिकतम तापक्रम हालसम्मकै उच्च पुगको हो ।

धरानमा बुधबार र बिहीबार अधिकतम तापक्रम ३९.३ डिग्री पुगेर रेकर्ड ब्रेक भएको छ । त्यहाँ यसअघि २२ अप्रिल २०१३ मा ३८.८ डिग्री पुगेको थियो । 

त्यस्तै, इलामको कन्याम चिया बगान क्षेत्रमा पनि अधिकतम तापक्रम ३० डिग्री पुगेको छ । त्यहाँ यसअघि १० जुन १९७३ मा २९ डिग्री पुगेको थियो । पहाडी क्षेत्र ओखलढुंगामा पनि तापक्रम लगातार उकालो लागेको छ । ओखलढुंगामा २८ अप्रिल १९९९ अधिकतम तापक्रम ३०.९ डिग्री पुगेर रेकर्ड बनेकामा सोमबार र मंगलबार क्रमशः ३१.१ र ३१. ३ डिग्री मापन भएको छ । 

विभागका अनुसार रौतहटको गौरमा ४३, राजविराजमा ४१.८, महोत्तरीको जलेश्वरमा ४१.५, सुनसरीको तरहरामा ४०.६, सिराहाको लहानमा ४०.५, विराटनगरमा ४०.४, सुनसरीको चतरामा ३९.७, पाँचथरको फिदिममा ३६, धनकुटाको पाख्रीबासमा ३१.५ र खोटाङको दिक्तेलमा दैनिक औसत अधिकतम तापक्रम २९.८ डिग्री मापन भएको छ ।