रसुवा । जल विद्युत् शेयर पाउनुपर्ने मागसहितको आन्दोलनले उग्र रुप लिएपछि रसुवामा प्रहरी र स्थानीयबिच झडप भएको छ । झडपमा दुई जना प्रहरी निरिक्षकसहित ८ जना प्रहरी घाइते भएका छन् ।
उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच झडप भएको थियो । गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको शेयर पाउनुपर्ने माग गर्दै आएका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको बताइएको छ ।
आन्दोलनरत पक्षले विद्युत् आयोजनाका सवारी साधन तथा कार्यालयको भौतिक संरचना तोडफोड गर्न थालेपछि दुई पक्षका बीचमा झडप भएको थियो ।
स्थितिलाई नियन्त्रणमा ल्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका संयुक्त सुरक्षा बलले अश्रु ग्यास र फाइरिङ गरी स्थिति नियन्त्रणमा लिएका थिए । पाँच गतलाङका बासिन्दा पक्राउ परेका छन् ।