माओवादीका दुई मन्त्रीले दिए राजीनामा

न्युजलय २३ जेठ २०८०, मङ्गलबार ०९:३७ मा प्रकाशित

विराटनगर । कोशी प्रदेश सरकारमा माओवादीबाट मन्त्री भएका २ जनाले राजीनामा दिएका छन् । 

माओवादी कोशी प्रदेश संसदीय दलले हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्री भएका दुर्गा प्रसाद चापाँगाइ र पर्यटन,वन तथा वातावरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् ।

मङ्गलवार  माओवादीको प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका छन् । उनीहरू गत पुस २५ गते मन्त्री नियुक्त भएका थिए ।

मङ्गलवार प्रदेश पदाधिकारी र संसदीय दलको बैठकले माओवादीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट पनि मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको थियो । 

निर्णय  लिएसँगै माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसद् सचिवालयलाई दिएका थिए ।