सिद्धबाबालाई जिल्ला अदालतबाट फेरी सफाइ

न्युजलय २७ भदौ २०८०, बुधबार ०५:५४ मा प्रकाशित

सुनसरी । कृष्णबहादुर गिरी (सिद्धबाबा) ले करणी मुद्धामा जिल्ला अदालत सुनसरीबाट फेरी सफाइ पाएका छन् । उनीविरुद्ध जिल्ला अदालत सुनसरीमा परेको जबरजस्ती करणी मुद्दामा निवेदकको माग दाबी नपुग्ने आदेश भएको हो । यसअघि पनि उनले जिल्ला अदालतबाट सफाइ पाइसकेका थिए । पछि उच्च अदालत विराटनगरले जिल्लाको फैसला उल्टाउँदै पुनः सुरुदेखि हेर्न आदेश दिँदै जिल्लामा फिर्ता पठाएको थियो । 


२०७६ कात्तिक ४ गते राति सिद्धबाबाले करणी गरेको दाबीसहित २०७६ मंसिर ११ गते महिला अनुयायीले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् । गिरीलाई २०७६ पुस १४ गते  जिल्ला अदालत सुनसरीका तत्कालिन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले ३ लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश दिएको थियो। 


गिरीलाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाई दिएको थियो । सहमति करणी गरेको देखिएकाले बलात्कार नठहरिने फैसला गरेको थियो ।


जिल्लाको फैसलाविरुद्ध पीडित पक्षबाट सरकारी वकिलको कार्यालय २०७७ फागुन २८ गते उच्च अदालतमा निवेदन दर्ता गरिएको थियो  । धरौटी लिने जिल्ला अदालतको आदेश खारेज गनुएपर्ने र साधारण तारेखमा बसेर मुद्दा लड्न पाउनुपर्ने भन्दै ‘सिद्धबाबा’ पनि विराटनगर उच्च अदालत पुगे । उच्च अदालतले ‘सिद्धबाबा’को माग खारेज गरेर थुनामै राखेर सुनुवाइ गर्न भन्यो । उच्च अदालतको आदेशविरुद्ध ‘सिद्धबाबा’ सर्वोच्च अदालत पुगे । १२ मंसिर ०७७ मा सर्वोच्च अदालतले उच्च अदालतकै आदेश सदर गरिदिएको थियो ।


२०७९ जेठ ३ गते उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरण कुमारी गुप्ताको इजलासले जिल्ला अदालतबाट भएको आदेश उल्ट्याउँदै मुद्दा फेरी शुरुदेखि हेर्नू भनी जिल्ला अदालतमा नै पठाइदिएको थियो ।