काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विभिन्न १३ विद्यार्थी संगठनले पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
सोमबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले जेठ १० गते अर्थ मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई ज्ञापनपत्र बुझाउने, जेठ ११ गते ११ बजे आयल निगमको केन्द्रीय कार्यालय टेकुमा घेराउ कार्यक्रम गर्ने र देशभरका क्याम्पसमा कालो ब्यानर राख्ने र १२ गते साँझ काठमाडौंमा टर्चलाइट जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेको जनाएका छन् ।
उनीहरुले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको कालोबजारी नियन्त्रण गरी जनतालाई राहत प्रदान गर्न र पटक–पटक पेट्रोलियम पदार्थमा हुने गरेको मूल्यवृद्धिको दीर्घकालीन समाधान खोज्न तथा पेट्रोलियम इन्धनको विकल्पका रुपमा जलविद्युतको पर्याप्त उपलब्धता हुने व्यवस्था गर्न समेत माग गरेका छन्।