इटहरी । गत कात्तिक पहिलो साता बेमौसमी वर्षासँगै आएको बाढी तथा डुबानका कारण क्षति पुगेका किसानहरुलाई छिट्टै ‘रिलिफ प्याकेज’ ल्याउँछौँ भनेर प्रधानन्त्री शेरबहादुर देउवाले दिएको आस्वासन सुनसरीका कृषकको हकमा लागू भएको छैन ।
क्षति भएको एक साता नबित्तै प्रदेश १ मा क्षतिको अनुगमन गर्न आएका प्रधानमन्त्री देउवाले मागेरै भए पनि राहत दिने भन्दै भाषण गरेका थिए । उनले भाषण गरेको पनि तीन महिना पुरा भएको छ ।
तर, सुनसरीका कृषकले उनले दिन्छु भन्ने राहत कुरै बस्न बाध्य भएका छन् । अल्पकालिन र दिर्घकालीन गर्नु पर्ने काम विभाजन गरेर नै सरकारले उचित सम्बोधन गर्ने देउवाले बताएका थिए । सुनसरीमा देउवाले भनेका थिए, ‘अहिले सबैभन्दा बढी धानमा क्षति भएको छ ।
खानलाई धान नै नहुने अवस्था आएको छ । धानहरु कुहिएको छ । त्यसैले चाहिँ यसलाई धेरै ठूलो रिलिफ प्याकेज (राहत प्याकेज) ल्याउने छौँ ।
काठमाडौँ जान वितिकै तपाइँहरुलाई केहि न केहि रिलिफ दिने काम गर्छौँ ।’ तर तीन महिना वितिसक्दा पनि उनको कथनी करणीमा रुपान्तरण हुन सकेको छैन ।
प्रधानमन्त्रीको यहि राहत प्याकेजको पर्खाइमा बस्ने मध्येका एक हुन् सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर २ कुम्याहीका कृषक हनिनारायण चौधरी । बेमौसमी वर्षासँगै आएको बाढीले उनले साढे विघा क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुग्यो । सोहि धानबाट उनको परिवारको गुजारा समेत हुने गरेको थियो ।
तर, बाढीले धानमा क्षति पुर्याएपछि अहिले उनि चिन्तामा छन् । सरकारको राहत कहिले आउँछ भनेर कुरीरहेका छन् । ‘बाढीले साढे तीन विघामा क्षति भयो’, उनले भने, ‘तर पूर्ण क्षति चाहिँ एक विघामा भयो । पैसाकै हिसाब गर्ने हो भने पनि एक लाख जतिको क्षति भएको छ ।’ उनले अगाडि थपे, ‘यहि धानबाट हामी खान्थ्यौँ पनि बेचेर अरु काम पनि हुन्थ्यो । बाढीले सबै चौपट बनायो ।’
क्षति भएको निक्कैपछि वडा कार्यालयले क्षतिको विवरण भर्न भन्दै सूचना टाँस गरेको चौधरीले थाहा पाए । सोहि सूचनाका आधारमा अवाश्यक कागजातसहित उनले फारम भरेर वडा कार्यालयमा बुझाए ।
वडा कार्यालयले क्षतिको विवरण बुझाउन लगाए बाहेक अरु कुनै निकायबाट निरिक्षणसमेत नआएको उनले गुनासो गरेका छन् । ‘कुनै निकायले राहत त के हेर्न पनि आएको छैन’, उनले भने, ‘बाढी आएपछि वडामा सूचना निकाले । क्षतिको विवरण भर्नु भनेर भने । त्यसैको आधारमा हामीले क्षतिको विवरण भर्यौँ ।’
विवरण बुझाएपछि राहत प्याकेज आयो कि भनेर आफू पटक पटक वडा कार्यालय गएको उनि सुनाउँछन् । तर वडा कार्यालयले मान्त्रालयबाट नै राहत नआएको भन्दै फर्काउने गरेको उनको दुखेसो छ ।
‘जग्गाको धनी पूर्जा, नागरिकता, क्षति भएको ठाउँको फोटो र विवरण लिनुभयो । र, केहि समयपछि राहत आउँछ भन्नु भएको छ’, उनले भने, ‘अझैसम्म पनि हामी राहत आउँछ भन्ने आशा र विश्वासमा हामी छौँ । माथीबाट सर्कुलर नै आएको छैन रे १ खै कहिले आउने हो रु’ बाढीले धान विक्रिमा पनि समस्या परेको उनले सुनाए । ‘बाढीले धान डुबायो ।
पहिलेको जति पनि विक्रि भएन’, उनले भने, ‘बिग्रिएको छ भनेर कम दाममा लगे । पोहोरको भन्दा आधा कममा नै धान बेच्नु पर्यो ।’ यति मात्रै होइन बाढीले खेतमा बालुवा थुपारिदिएकाले अन्य बाली उत्पादनमा पनि राहत आएको उनको गुनासो छ ।
उनि जस्तै सुनसरीका क्षति पुगेका सबै कृषकले स्थानीय तह र जिल्ला प्रशासन हुँदै गृह मन्त्रालयमा विवरण पठाइ सकेका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार मन्त्रालयबाटै क्षतिपूर्ति नआएका कारण कृषकले क्षतिपूर्ति पाउन नसकेका हुन् ।
गृह मन्त्रालयले क्षतिको विवरण पठाउन परिपत्र गर्नु पूर्व नै सुनसरीमा क्षतिको विवरण संकलन गरेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताएका छन् । त्यसपछि मन्त्रालयले पठाएको ‘फम्र्याट’मा पनि क्षतिको विवरण संकलन गरेर गृह मन्त्रालय पठाइ सकेको उनले जानकारी दिए ।
तर मन्त्रालयबाट अहिलेसम्म क्षतिपूर्ति नआएको उनले बताए । ‘बाढीले पुर्याएको क्षतिको विवरण उपलब्ध गराउन हामीले जिल्ला स्थित पालिकालाई परिपत्र गरेका थियौँ’, उनले भने, ‘मन्त्रालयबाट पठाउन नभन्दै नै हामी आफ्नो फम्र्याट बनाएर विवरण संकलन गरेका थियौँ ।
तत्पश्चात फेरी मन्त्रालयबाट जुन ढाँचामा विवरण माग गर्नु भनेर पत्र आएको थियो र त्यहि बमोजिम नै हामीले सबै पालिकामा पुन पत्राचार गरेर मन्त्रालयकै ढाँचामा नै विवरण प्रमाणीत गरि पठाउन हामीले पत्र पठायौँ ।
अहिले त्यो विवरण हामीले मन्त्रालय पठाइ सकेका छौँ ।’ जिल्लाका सबै पालिकाबाट संकलन भएको क्षतिको विवरण अनुसार सुनसरीमा तीन अर्ब ८६ करोड ९५ लाख ७५ हजारको हाराहारीमा क्षति भएको उनले जानकारी दिए ।