काठमाण्डौ । एमाले नेता लालबाबु पण्डितले पार्टीको सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको घोषणा गरेका छन् ।
पण्डितले हिजो राति अध्यक्षले जारी गरेको तजबिजी केन्द्रीय समितिमा नाम नदेखेपछि आज सामाजिक सञ्जालमा लेख्दै एमालेको कुनैपनि कार्यकारी पदमा नबस्ने निर्णय गरेका हुन् ।
मोरङबाट प्रतिनिधिसभा सदस्य पण्डितले पछिल्लो निर्वाचनमा काँग्रेस नेता डा. शेखर कोइरालालाई पराजित गरेका थिए ।
अहिले भइरहेको दशौं महाधिवशेनमा पण्डितलाई ओली नेतृत्वको अध्यक्ष मण्डलको सदस्य बनाइएको थियो । यसअघि पार्टीको केन्द्रीय सदस्य भइसकेका पण्डितलाई अध्यक्षले केन्द्रीय सदस्य समेत नबनाएपछि विद्रोहको सट्टा निस्क्रिय राजनीतिको बाटो रोज्न लागेको बताइएको छ ।
पण्डितले सामाजिक सञ्जालमा उक्त स्टाटस लेखेपछि अधिकांशले आलोचना गरेका छन् ।