काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक साताको अवधिमा ७२.७ किलोग्राम सुन भित्रिएको छ ।
मंसिर १३ गतेदेखि १९ गतेसम्मको अवधिमा विदेशबाट नेपाल फर्कने १५ सय ३० जना नेपालीले आफ्नो साथमा उक्त सुन ल्याएका थिए ।
विदेशबाट नेपाल फर्कने क्रममा सुनका तयारी गहनाको रुपमा व्याख्या गर्दै ल्याउने गरेको पाइएपछि सरकारले विमानस्थल भन्सारमा कडाइ गरेको थियो ।
विमानस्थलमा चेकजाँच कडाइ गरेपछि सात दिनको अवधिमा ७२ किलो सुन भित्रिएको पाइएको हो । १५ सय ३० मध्ये १३ सय ४१ जनाले सुनको भन्सार तिरेका छन् ।
विदेशबाट नेपाल आउने नेपालीहरुले ५० ग्रामसम्म सुनको तयारी गर–गहना नेपाल ल्याउन पाइने प्रावधानको गलत प्रयोग गर्दै ठूलो मात्रामा काँचो सुन ल्याउने पाइएको छ ।
५० ग्रामसम्म सुनका गहना ल्याउँदा नलाग्ने भन्सार महसुललाई गलत व्याख्या गरेर काँचो सुनलाई बाला आकारमा घुमाएर गहना भन्दै नेपाल ल्याउने गरिएको पाइएको हो ।
सात दिनमा नेपाल भित्रिएको ७२ किलो सुनको मूल्य ५ अर्ब ६८ करोड रुपैयाँ हुन आउँछ ।