नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अल्मुताइरीले दिए राजीनामा

न्युजलय २६ भदौ २०७९, आइतबार १०:४९ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अल्मुताइरीले नेपाली फुटबल टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारीबाट आफू अलग भएको घोषणा गरेका हुन्।

उनले आफूले ५२५ दिनसम्म नेपाली फुटबल टिमको प्रशिक्षक रहेको बताएका छन्। उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन्।

हाल विदामा रहेका अलमुताइरी आफ्नो देश कुवेतमा छन्। नेपालले एएफसी एसिया कपको छनोट कुवेतमा खेलेपछि उनी उपाचारका लागि उतै बसेका थिए। 

एएफसी एसिया कप छनोटअघि अलमुताइरी र राष्ट्रिय टिमका १० जना खेलाडीबीच विवाद भएको थियो। विवादका कारण उनले खेलाडीलाई क्याम्प छाड्न निर्देशन दिएपछि खेलाडी  र प्रशिक्षक विवादले उग्ररुप लिएको थियो।

त्यसपछि एन्फाले गठन गरेको कार्यदलले विवादमा आइरहने अलमुताइरीको विकल्प खोज्न एन्फालाई सिफारिस गरेको थियो।