इटहरी । राष्ट्रिय जन सांस्कृतिक महासङ्घ सुनसरीले इटहरीमा कला साहित्य र संस्कृति विषयक सैद्धान्तिक प्रशिक्षण सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रा.डा. बद्रीविशाल पोखरेल र केन्द्रीय सदस्य तथा वरिष्ठ कलाकार ओम विक्रम ओझाले संयुक्त रुपमा कला, साहित्यिकसम्बन्धी जन सांस्कृतिक मान्यता र कृष्ण प्रसाद गौतमले प्रगतिवादी कविता : सिद्धान्त र प्रवृत्ति शीर्षकको अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
दुवै पत्रमा प्रगतिशील, प्रगतिवादी तथा जन सांस्कृतिक मान्यता विषयमा प्रकाश पारिएको थियो । अवधारणा पत्रमा भिन्न विचार र सिर्जनालाई दवाव र दमन गरेर होइन तिनसित स्वस्थ्य प्रतिस्पर्धा गरेर श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने कुरा व्यक्त गरिएको थियो । राम्रो काम पनि राम्रै तरिकाले सम्पन्न गर्नुपर्छ भन्ने जबज अनुसारको प्रतिस्पर्धी प्रगतिशील प्रगतिवादी सांस्कृतिक सैन्दर्य पक्ष पत्रहरुमा प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.बद्रीविशाल पोखरेलले कार्यक्रम गुणात्मक रहेको बताउँदै सिद्धान्त, सिर्जना र संगठन जस्ता त्रिआयमिक विशेषता एउटा अगुवा स्रष्टा र कलाकारमा हुनैपर्ने उल्लेख गरे । महासंङ्घका केन्द्रीय सदस्यहरु वरिष्ठ कलाकार दुर्गा पराजुली, हीरा ओझा, सुनसरी जिल्ला सदस्य, सांस्कृतिक इन्चार्ज तथा वरिष्ठ लोक गायक बालकृष्ण कार्की, जिल्ला सदस्य तथा प्रसिद्ध गीतकार गायत्री लम्साल, महासंघ इटहरी इनरुवा र रामधुनीपालिकाका अध्यक्षहरु क्रमशः हरिप्रसाद भट्टराई, रुक्मणी सापकोटा र लालबहादुर चौधरी, कलाकार टेकबहादुर पुरी, हंश वाहिनी फिल्मस प्रोडक्शन प्रा.लि.का अध्यक्ष कलाकार कृष्ण नेपाल, लगायतले पत्रउपर आआफ्ना जिज्ञासा प्रस्तुत गरेका थिए ।
छलफल बहसका क्रममा सर्जकहरुलाई अधिकांश पार्टी नेतृत्वबाट उपेक्षापूर्ण ब्यवहार गरेको तीतो अनुभव भए पनि त्यसको समाधानमा सर्जक संस्था सक्रिय रहनु पर्ने आवाज उठेको थियो । सभामा कलाकार बालिका पौडेल, प्रलेस सुनसरी अध्यक्ष टीक मिलन, महिला नेतृ तथा लेखक मिथिला पोखरेल, महासङ्घकी सचिव ऋचा काफ्ले, छन्दोवादी कवि सीता दाहाल र महासंघ कोषाध्यक्ष तथा उपाध्यक्ष क्रमशः नन्दु ओझा र अर्जुन बिस्टले आआफ्ना विचार र सिर्जना प्रस्तुत गरेका थिए ।