खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी सम्पर्क बिहिन भएका छन् ।
दसैंतिहारको मुखैमा विभिन्न योजना तथा आर्थिक कारेबार थाँती राखेर प्रमुख प्रशासकीय अधिकृत रेग्मीले कार्यलय छाडेपछि कर्मचारीको तलब तथा निर्माण व्यवसायीको भुक्तानी रोकिएको गाउँपालिकाले जनाएको छ ।
हालै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत रेग्मी निमित्त नतोकी तथा बिना जानकारी कार्यालय छाडेको विषयमा विभिन्न टिक्का टिप्पणी हुन थालेको छ । कतिपयले अनुचित शीर्षकमा भुक्तानी दिनु पर्ने दवावको कारण रेग्मीले कार्यलय छाडेको बताएका छन् भने, केहीले रेग्मीले गैर जिम्मेवार ढंगले कार्यलयको कामकाज छाडेको भन्दै आलोचना गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत रेग्मीले भने घरमा जरुरी काम परेकाले अचानक सोमबार बिहानै विराटनगरस्थित घर गएको बताएका छन । आइतबार राति अबेरसम्म कार्यालयमा बसेर अधिकांश काम सम्पन्न गरेको र बाँकी काम घरैबाट गर्ने र सम्भव नहुने काम दसैंपछि कार्यलय पुगेर गर्ने तर दसैं अगाडी कार्यलय फर्किने सम्भावना नरहेको रेग्मीको भनाइ छ ।
सामाजिक सञ्जालमा गाउँपालिका बारेमा टीकाटिप्पणी हुन थालेपछि गाउँपालिका प्रमुख लोकेन्द्र राईले सोमबार राति नै विज्ञप्ति जारी गरी बिना प्रमाण भ्रमको खेती नगर्न र नगराउन अनुरोध गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी असोज–२९ गते बिहानबाट बेपत्ता भएकाले उनको ज्यान सुरक्षाकोसमेत संयमतालाई मध्यनजर गर्दै खोजी कार्य भइरहेको विज्ञप्तिमा भनिएको छ ।
बिना जानकारी कार्यालय छाडेर हिडेका रेग्मीलाई २४ घण्टाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको र हाजिर नभएको खण्डमा कानुन बमोजिम कारबाही गरिने गाउँपालिका प्रमुख लोकेन्द्र राईले बताएका छन् ।