दुर्गा प्रसाईंः ‘प्रचण्ड–माधवले एक सिट जिते सबै सम्पत्ति राजीनामा गरी सन्यासी बन्छु’

न्युजलय १६ चैत २०७८, बुधबार ०८:३६ मा प्रकाशित

 काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईंले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एक्ला एक्लै जाँदा आगामी चुनावमा एक सिट पनि जित्न नसक्ने दाबी गरेका छन्। 

भक्तपुरको सूर्यविनायकस्थित आफ्नै लगानी रहेको सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन समारोहमा बोल्दै प्रसाईंले यस्तो जिकिर गरेका हुन्। 

उनले भने ‘बिना गठबन्धन एक्ला एक्लै आउनुस्, माओवादी र एस भन्ने पार्टीले एक मात्रै सिट जितेछन् भने।

मेरो सबै सम्पत्ति उनीहरुले इच्छाएको व्यक्तिको नाममा राजीनामा पास गरेर सन्यासी बनेर वृन्दावन जान्छु, मेरो यही भनाइलाई आधार बनाइएर आए हुन्छ।’ 

उनले ओलीले सत्ता सञ्चालन गर्दा देशमा विकास निर्माणको लहर नै आएको दाबी गरे। कांग्रेसले ३० वर्षमा गरेको फोहोर ओलीले ३ वर्षमा सफा गर्ने ठाउँमा पुगिसकेको दाबी गरे।